कविता : हामी त पिरती लाउथ्याैं

बिपी अस्तु

Nepal Live

हामी त पिरती लाउथ्यौं नाती,  पिरती

उनी निस्कन्थे
कम्मरमा बाँधेर मायाको बरो
कठियामा हालेर मोहनीको अंकुश
सुर्कनथैलीमा कोचेर यादको चिलिम
विश्वासको झुलो र हाणेढुंगो
व्यग्रताको ठिन्को
खल्तीमा लुकाएर हृदयको सुल्पा

म निस्कन्थेँ
कम्मरमा बाँधेर संस्कारको धरो
पोल्टामा बेरेर मायाको फाँको
पिठ्युँमा बोकेर यादको डोको
आँखामा पोतेर बैँसको गाजल
गलामा भरेर ठाणी भाकाको पानी

त्यो रानीवनको काफलको हाँगो
हाम्रो प्रेम चौतारी
लाल मुगाको गुँड आयो भन्दै जिस्कन्थे दौँतरी

सुल्पामा हालिन्थ्यो यादको चिलिम
विश्वासको झुलोमा व्यग्रताको ठिन्कोले हिर्काई
बालिन्थ्यो मिलनको आगो
तानिन्थ्यो पिरतीको सर्को

अङ्कुशले निहुर्‍याएर पिरको हाँगो
चुँडेर शङ्काका काट्टाहरु
भर्दिन्थे उनले मेरो यादको डोको

काटेर उनका सेखीका जुङ्गा
भाँचेर ठट्टाका हाँगाबिँगा
पूरा गर्दिन्थेँ मैले उनको मायाको भारी

उच्ची ढुङ्गामा चढेर फुकाउँथे पोल्टाको फाँको 
उनले चपाउँथे, चपाउँथे मलाई दिन्थे
मैले चपाउथेँ, चपाउँथेँ उनलाई दिन्थेँ
यसरी खान्थ्यौँ हामीले एक अर्काको जुठो

मेरो गलाबाट ठाणी भाकाको पानी चुहिन्थ्यो
उनले पनि पिउँथे मैले पनि
सुस्साइरहेका सल्ला
सल्लाको हाँगामा झुन्डिएका बाँदर
भिरमा कुदिरहेका मृग
चरिरहेका चौपाया
सुस्ताइरहेका ग्वाला 
सबैले पिउँथे एक–एक घुट्को

साँझपख लस्करै लागेर घर फर्किंदै गरेका चौपाया सङ्गीत बजाउँथे
त्यही सङ्गीतको तालमा हामी देउडा गाउँदै, देउडा गाउँदै
दोबाटोसम्म पुग्थ्यौं
र, भन्थ्यौँ, निकोभलो मान्या

आधा रातसम्म बुनी बस्थेँ जालेरुमाल
दिनभरी बटुलेका पिरतीका रेसाले
त्यही रुमाल उपहार दिएकी थिएँ उनलाई 
मस्टेमाणुको मेलामा 
उनले मलाई नै फिर्ता गरेर रुमाल 
मेरो हात समाते, मेरो हात समाते
अँधेरी रातमा उनी अघि–अघि, म पछि–पछि
आएकी हुँ तिम्रा बाजेका घरमा

हामी त पिरती लाउथ्यौं नाती, पिरती

तिम्रो समय त कस्तो नरमाइलो
‘लप’ मात्रै गर्न पाइने
पिरती लाउन नपाइने 

हामी त पिरती लाउथ्यौं नाती, पिरती।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने