‘इन्डो प्यासिफिक’ रणनीति : शंकाको घेरामा नेपाल

पुरुषोत्तम पौडेल

Nepal Live

घटना–१
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको गत पुस २ गते भएको अमेरिका भ्रमणमा उनका समकक्षी माइक पोम्पेओले नेपाललाई ‘इन्डो प्यासिफिक रणनीति’अन्तर्गत सहभागी हुन आग्रह गरे। अमेरिकाको सो आग्रहलाई मन्त्री ज्ञवालीले खण्डन गरेको बताइयो। तर, यस भनाइप्रति परराष्ट्र मामिला जानकार र स्वयं सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू यसमा विश्वस्त छैनन्।

घटना–२


पारस्परिक भ्रमणका क्रममा गत बुधबार नेपाल आएका जापानका विदेशमन्त्री तारो कानोले पनि नेपाललाई इन्डो प्यासफिक रणनीतिमा सामेल हुन औपचारिक रुपमै आग्रह गरे।

भारतको नयाँ दिल्लीमा भएको रायसिना संवादमा सहभागी हुँदै नेपाल आएका कानोले भारतमा पनि नेपाललाई इन्डो प्यासिफिक रणनीतिमा सहभागी गराउन छलफल गरेको हुनसक्ने आशंका गरिएको छ। अमेरिका, भारत, जापान लगायतका देशले हिन्द महासागरमा बढ्दै गएको चिनियाँ प्रभावलाई निरुत्साहित गर्न ल्याएको रणनीतिमा नेपाललाई पनि सहभागी गराउने पहल गरेको विश्वास गरिएको छ।

घटना–३
जापानी विदेशमन्त्री कानो स्वदेश फर्किएकै दिन अमेरिकी सेनाको इन्डो प्यासफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले बिहीबारदेखि नेपालको दुईदिने भ्रमण गरे।

कूटनीतिमा समय, सन्दर्भ र परिस्थितिको ज्यादै नै महत्वपूर्ण भूमिका हुन्छ। कुन समय, कुन सन्दर्भ र परिस्थितिमा के भयो भन्ने कुरालाई ख्याल राख्न सकिएन भने त्यसले दीर्घकालीन समयसम्म राष्ट्रको जीवनमा प्रभाव पार्न सक्छ।

भ्रमण तथा भेटघाटलाई सामान्य रुपमा लिन सकिए पनि छोटो समयको अन्तरमा फरक–फरक पृष्ठभूमिका व्यक्तिहरु एकै विषयमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा गाँसिनुलाई सामान्य रुपमा मात्रै अर्थ्याउन मिल्दैन। एडमिरल फिलिपको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिनुपर्ने मत राख्छन् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा सुरक्षाविद् दीपक प्रकाश भट्ट।

‘सामान्यतया यस्ता भ्रमण पहिला पनि हुने गरेका छन्, तर अहिले परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणपछि नेपाललाई इन्डो प्यासफिक रणनीतिमा सहभागी गराउने प्रयास भएको चर्चाबीच हुनुलाई सामान्य भन्न मिल्दैन’, भट्ट थप्छन्, ‘चीन घेर्ने रणनीतिका साथ आएको यस्तो प्रस्ताव प्रबर्द्धन गर्नबाट नेपाल जोगिनुपर्छ।’

नेपालसँग अमेरिकी साझेदारी राजनीतिकभन्दा पनि सैन्य रुपमा रहेको विश्लेषण हुने गरेको छ। नेपालको आन्तरिक राजनीतिमा अमेरिकाको खासै रुचि नभएको बताइन्छ। तर, नेपालको सैन्य क्षेत्रमा आफ्नो प्रभाव उत्तरी छिमेकी देश चीनलाई लक्षित गरी हुने गरेको पनि कतिपयको बुझाई छ। यसअघि इन्डो प्यासफिक कमान्डका निमित्त कमान्डर लेफ्टिनेट जनरल ब्रयान फेन्टोलनले गत अगस्टमा नेपाल भ्रमण गरेका थिए।

१९औँ शताब्दीमा एट्लान्टिक महासागर विश्व व्यापारको केन्द्र हुने गरेको थियो भने २०औँ शताब्दीमा प्रशान्त महासागर केन्द्रमा थियो। परिवर्तित सन्दर्भमा २१औँ शताब्दी भने हिन्द महासागर केन्द्रित रहेको विश्लेषण हुने गरेको छ। हिन्द महासागरमा चिनियाँ वर्चश्व बढ्दै जाँदा अमेरिकाले ‘एसिया प्यासफिक रणनीति’लाई परिर्वतन गरी ‘इन्डो प्यासफिक’ नामाकरण गरेको हो।

नेपालमा यस्ता खालका भ्रमण निरन्तर हुने गरेको बताउँछन् नेपाली सेनाका पूर्व जनरल उमेर भट्टराई। ‘यस्ता भ्रमण निरन्तर हुने भ्रमणको एउटा पाटो हो, तर परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणपछि यो विषय पेचिलो बनेको छ’, भट्टराई भन्छन्, ‘मन्त्री ज्ञवाली अकस्मात अमेरिका भ्रमणमा जानु, जापानी विदेशमन्त्री कानो र अमेरिकाको इन्डो प्यासफिक एड्मिरल फिलिप करिब एकपछि अर्को गर्दै नेपाल आउनुका पछिको अन्तर्यलाई हामीले चनाखो रुपमा विश्लेषण गर्न जरुरी छ।’

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने