मेगा बैंकद्वारा बोनस शेयरसहित ७.८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल लाइभ

Nepal Live

काठमाडाैं- मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित ७.८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।

काठमाडौंमा सोमबार सम्पन्न मेगा बैंकको आठौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ सम्म सञ्चित मुनाफा एवम् वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पूँजीमध्ये ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैयाँ ५९ पैसा नगद लाभांश पारित गरेको हो। साे रकम कुल चुक्ता पूँजीकाे ६.८५ प्रतिशतले हुन आउँछ।

यसैगरी, चुक्ता पूँजीको १ दशमलव ००२३३ प्रतिश हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर पनि साधारणसभाले पारित गरेको छ।

साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिनेसमेत निर्णय गरेकाे छ। मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधीनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको बताए।

अध्यक्ष शाहले वैदेशिक रणनीतिक साझेदार ल्याउने विषयमा बैंकले छलफललाई अगाडि बढाइसकेको पनि जानकारी दिए।

साधारणसभापछि बैंकका अध्यक्ष शाहले भने, ‘हामीले मेगा बैंकलाई संघियताको ढाँचामा लगिसकेका छौँ। सोही अनुरुप बुटवलमा आफ्नै प्रादेशिक कर्पोरेट कार्यालय भवनको शिलान्यास भई भवन निर्माण कार्य अघि बढाएका छौँ। केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको छ।’

मेगा बैंकले मर्जरको ढोका पनि खुल्ला राखेको छ। मेगा बैंकमा गतवर्ष मात्रै टुरिजम डेभलपमेन्ट बैंक र त्यसअघि पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो।

टुरिजमसँगको मर्जरपछि मेगा बैंक पूँजीका हिसाबले देशकै दोस्रो ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ। आर्थिक वर्ष २०७४/०७५ को बोनस शेयर बाँडफाँडपछि चुक्ता पूँजी १० अर्ब ३८ करोड रुपैँया पुग्ने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिइन्नु। चालू आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ३ अर्ब १५ करोड रुपैयाँले वृद्धि भई ६६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

यसैगरी, खुद कर्जा ५ अर्ब १३ करोड रुपैयाँले वृद्धि भई ६२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत त्रैमासिकमा बैंकले ४० करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियाे।

बैंकले गत आर्थिक वर्षमा १७ वटा गाउँपालिकामा मेगाले आफ्नो शाखा विस्तार गरेको छ। अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका १ सय २ वटा शाखा कार्यालयहरु, १८ वटा एक्सटेन्सन काउन्टरहरु, ८१ वटा एटिएम मेसिन तथा १ सय १९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन्। चालू आर्थिक वर्षमा बैंकले ७२ वटा शाखारहित सेवा विस्तार गर्ने लक्ष लिएकाे छ।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने