माघी : कम्लहरी किनबेच हुने दिन!

रोशनमान श्रेष्ठ

Nepal Live

दाङ– उर्मिला चौधरी, कम्लहरी मुक्त अभियान कि एक अभियन्ता हुन्। आज माघी पर्व मनाइरहँदा उनी जुन किसिमको उल्लास र स्वतन्त्र महशुष गर्छिन्, आफ्नो विगतलाई उत्तिकै संकुचित र पीडादायी।

केही वर्षअघि फर्केर हेर्दा उनलाई माघीको दिनलाई लिएर उब्जिने खुसी र त्रास एकैपटक मानसपटलमा खेल्न थाल्छ। एकातिर घरपरिवार, साथीसंगीसँगको भेटघाटको खुसी त अर्कोतिर साहुको घरमा जानुपर्ने त्रास उनको मनमा सदैव रहिरहन्थ्यो।

माघीको रौनकसँगै माघीपछि सुुरु हुने नयाँ यात्रालाई सम्झेर उनको मन अत्तालिन्थ्यो। ‘अहिले सोच्दा अचम्म लाग्छ, त्यस्तो पनि जीवन हुने रैछ’, उनी भन्छिन, ‘वर्षमा एक पटक घर पुग्ने खुसी त हुन्थ्यो नै, फेरि अब कसको घरमा काम गर्न जानु पर्ने हो? साहु कस्तो हुने भन्ने डर मनमा नाचिरहन्थ्यो।’

उर्मिलाको जस्तै कथन छ, नेकपा सांसद एवम् पूर्व कम्लहरी शान्ता चौधरीको पनि। हरेक वर्ष माघीमा आफ्ना साथीसंगीसँग नाच्दै, गाउँदै रमाइलो गर्ने समय गुज्रेको पत्तो नपाउँदै माघीपछि (भाली) भने साहुको घरमा जानु पर्दा उनलाई पनि अलग किसिमको संकुचन र दबिएको महशुष हुने रहेछ।

‘हिजाका दिन सम्झिन पनि मन लाग्दैन, तर के गर्नु? बिर्सन्चु भन्दा पनि याद आइरहन्छ’, चामलको पिठोबाट बनाइने ढिक्री बनाउँदै शान्ताले भनिन्, ‘हिजोको हाम्रो जस्तो दुःख कसैले भोग्न नपरोस्।’

माघीमा नाचगानसँगै किनबेच

विगतमा माघी पर्व थारु युवायुवतीहरुका लागि अभिसाप नै सावित हुन्थ्यो। जमिनदारको घरमा कमैया र कम्लहरी राख्ने प्रचलन माघीबाटै सुरु गरिन्थ्यो। गरिबी र अशिक्षाको फाइदा उठाउँदै पशु जस्तैगरी एउटा कमैयालाई ‘छारा’(बिक्री) गर्ने र अर्काेलाई खरिद गरी दास जीवन जिउन बाध्य पारिन्थ्यो।

प्रत्येक वर्ष माघीकै दिनमा कमैया र कम्लहरीहरु घर फर्काइन्थ्यो। वर्ष दिनमा घर फर्किन पाएकोमा उनीहरुमा हर्षको सीमा हुँदैनथ्यो। ढिक्री खाँदै धुमरु र मघौटा नाच्दा दिन बितेको पत्तै पाउँदैनथे। तर, माघीसँगै हुने कमैया र कम्लहरीको किनबेच र साटासाटले भने वर्षदिनमा फर्किएको हर्ष ‘बालुवामा पानीजस्तै’ बन्थ्यो। एक वर्ष एक जना साहु या जमिनदारको बसेपछि माघीपछि भने उनीहरुका लागि अर्को साहु या महाजनकोमा जानुपर्थ्याे।

तर, हिजो उर्मिला र शान्तालगायतका सयौं कम्लहरीले गुजारेको समयजस्तो अवस्था अहिले छैन। समाजमा आएको परिवर्तन र कम्लहरी प्रथाको अन्त्यसँगै थुप्रै महिलाको जीवन फरक बाटोमा अघि बढेको छ। अधिकांशले केही न केही सिप सिकेर आय आर्जनमा लागेका छन्, स्वतन्त्र जीवन यापन गरिरहेका छन्।

कमैया र कम्लहरीको फेरिएको जीवन

मुक्त भएकाहरुमध्ये कतिपय पढाइ–लेखाइमा लागेका छन् भने कतिपय सिपमूलक तालिम लिएर आर्यआर्जनतर्फ उद्दत छन्। सरकारले मुक्तकमैयाहरुलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिदिएको छ। तर, त्यो रकम प्रयाप्त नभएको उनीहरुको गुनासो छ। अभियन्ता उर्मिला चौधरी भन्छिन्, ‘सरकारले दिने छात्रवृत्ति कर्कलाको पातमा अडिएको पानी जस्तै हो, झट्ट हेर्दा टिलपिल टल्किने राम्रो देखिन्छ, तर ....... ।’

५ कक्षासम्म अध्ययन गर्नेहरुका लागि वार्षिक १ हजार ५ सय, १० कक्षासम्मका लागि १ हजार ८ सय र १२ कक्षासम्मका लागि वार्षिक ५ हजार रुपैयाँ दिइने भए पनि त्यो रकमले विद्यालय पोसाक किन्नसमेत नपुग्ने कम्लहरीहरुको गुनासो छ।

७९ जना अझै कम्लहरी

कम्लहरी प्रथा हटाउन थारु बडाघरहरु स्वयम् र विभिन्न संघसंस्थाहरुको पहलमा सरकारले कम्लहरी मुक्त घोषणा गरे पनि हालसम्म पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन।

२०५७ साल माघ १ गतेदेखि कम्लहरी मुक्त अभियान सञ्चालन भएपनि करीब १३ वर्षपछि मात्रै यसले साकार रुप लिएको थियो। २०७० असार १३ मा सरकारले कमैया–कम्लहरी मुक्त भएको घोषणा गरेको हो।

मुक्त कम्लहरीहरुको क्षेत्रमा काम गर्ने मुक्त कम्लहरी विकास मञ्चका अनुसार पश्चिम नेपालमा मात्र १३ हजार २६ युवतीहरु कम्लहरी बसेका थिए।

कम्लहरी मुक्त भएको घोषणा भएको पनि ५ वर्ष बितिसकेको छ। तर, अझै ७९ जना युवायुवती कमैया÷कम्लहरीको रुपमा काम गरिरहेको तथ्यांकमा उल्लेख छ। जसमध्ये दाङमा १८, बाँकेमा ४, बर्दियामा २९, कैलालीमा २२ र कन्चनपुरमा ६ जना रहेका छन्।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने