चार वर्ष संकटमा गुज्रिएका रोहितको दुईवर्षे छलाङ

Nepal Live

काठमाडौं- सन् २०१२, नोभेम्बर पहिलो साता। नेपाली फुटबलमा तहल्का मच्चाएका रोहित चन्दको करिअरको महत्वपूर्ण दिन।

भारतीय आई लिग क्लब हल एससीमा दुई सिजन बिताएका रोहित इन्डोनेसिया पुगेर थप सफलता चुम्न चाहन्थे।

प्रि-सिजन चलिरहेको थियो। इन्डोनेसिया पुगेको भोलपल्टै इस्ट जाभास्थित मालाङ सहरको आरेमा एफसीमा रोहितले पहिलो ट्रायल दिए।

एकाध खेलबाहेक नेपाल र भारतको क्लब फुटबलमा रंगशाला रित्तो हुन्थ्यो। यस्तै दृश्य देख्दै र भोग्दै आएका रोहितका लागि यो रोमान्चकारी थियो। ४२ हजार अट्ने रंगशाला छिर्न दर्शकको तँछाडमछाड। क्लब फुटबल हेर्न समर्थकको ओइरो र हुटिङ उत्तिकै। पहिलो दिन नै रोहित चकित भए।

'इन्डोनेसियामा क्लब खेल हेर्न त्यति धेरै दर्शक आएको पहिलो पटक देख्दा चकित भएँ,' चन्द ६ वर्षअघिको घटना सम्झिन्छन्। 

आरेमामा लगभग एक साता ट्रायल दिँदा उनले २ खेल खेले। २० वर्षको युवा जोस भए पनि त्यही उमेर उनका लागि बाधक बनिदियो। आरेमाले उनलाई पत्याएन। क्लबका प्रशिक्षकले उनीसँग सम्झौता नगर्नु कारणबारे भने, 'युवा नै छ। रिजल्ट दिन गाह्रो हुन्छ।'

त्यतिकै नेपाल फर्कने कुरा भएन। एजेन्टसँगको सल्लाहपछि राजधानी जाकर्ताभन्दा १३ सय किलोमिटर टाढा सुमात्रा टापुमा रहेको क्लब पिएसपिएस पाकेनबारुमा पुगे। 

सुमात्रा टापु झरेपछि चन्दको अर्को परीक्षा सुरु भयो। 

राजधानीबाट धेरै टाढा रहेको पाकानबारु भर्खरै विकासित हुँदै थियो। न खाना मिल्ने न भाषा। अधिकांशलाई अंग्रेजी नआउने। अर्कोतर्फ अचाक्ली गर्मी। सुरुमा उनलाई निकै गाह्रो भयो।

ट्रायलको दिन पनि लम्बिँदै गयो। एक महिना बित्यो। सम्झौता कुर्दाकुर्दा उनी बेचैन हुन थाले। 'अब चाँडो निर्णय दिएनन् भने फर्कन्छु' भनेर सोचिसकेको थिए। यसबारे आफ्नो एजेन्टसँग पनि सल्लाह गरे।

पिएसपिएसमा ट्रायल दिइरहँदा एजेन्टमार्फत अर्को क्लबमा एक दिनका लागि प्रशिक्षणका लागि गए। जसले पिएसपिएसमाथि दबाब पर्‍यो। क्लब उनीसँग सम्झौताका लागि तयार भयो। रोहित र पिएसपिएसबीच सन् २०१२ को डिसेम्बरमा सम्झौता भयो। ३ लाख ५० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने गरी उनी आबद्ध भए। 

एक वर्षका लागि भएको सम्झौताअघि क्लबका प्रशिक्षकले रोहितलाई भनेका थिए,'आइ वान्ट यू इन माई क्लब।' जुन उनको खेल जीवनको 'टर्निङ प्वाइन्ट' बन्न पुग्यो। 

पछिल्लो ६ सिजन मध्ये ५ सिजन इन्डोनेसियामा बिताए उनले। राजधानी जाकर्ताको गल्ली-गल्लीमा फ्यान फलोइङ ह्वात्तै बढ्यो। रोहित र नेपाल पर्यायबाची जस्तै हुन थाले। 

रफ्तारमा ब्रेक
रोहितका लागि ६ वर्ष निकै उतारचढावपूर्ण रह्यो। त्यसमध्ये ४ वर्ष त सोचेअनुरुप भएन। 

गत सिजन भने उनले खेल जीवनकै ठूलो सफलता हात पारे। एसियाको लोकप्रिय र व्यवासायिक लिगमध्येको एक इन्डोनेसियन लिग वानमा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भए। ब्राजिल र नेदरल्यान्ड्सका खेलाडीलाई पछि पार्दै उनी चर्चामा छाए।  

सम्झौता नसकिँदै क्लब छाडेका घटनादेखि इन्डोनेसियाको फुटबल विवादले सिजनकै लिग परित्याग गर्नुपर्नेसम्मका अवस्था आए उनीसामु। तर उनी निराश भएनन्। अथक परिश्रम र मेहनतलाई नै मूलमन्त्र बनाएर अघि बढिरहे। 

फुटबल 'टिम गेम' भएकाले नजिता निकाल्न व्यवस्थापन पक्षलाई पनि त्यतिकै महत्वपूर्ण मानिन्छ। तर व्यवस्थापन पक्ष मिल्न नसक्दा रोहितको रफ्तारमा पटक–पटक ब्रेक लाग्यो। 

त्यतिबेला इन्डोनेसियन फुटबल चरम विवादमा फसेको थियो। जसका कारण २ वटा लिग सञ्चालन भए। रोहितले खेल्ने लिगको माहोल राम्रो भएकाले विवादतिर ध्यान दिएनन्। 

आई लिगमा २ सिजन बिताएर इन्डोनेसिया पुगेका उनले त्यहाँको फुटबल माहोल फरक देखे। हरेक खेलाडी व्यवस्थापनको विवादतिर ध्यान नदिई आफ्नो खेललाई जोड दिन्थे। रोहितले पनि त्यसलाई पछ्याए।

पिएसपिएसमा आबद्ध भएको पाँचौं महिनामा लिग चल्दै थियो। पिएसपिएस आर्थिक संकटमा पर्‍यो। क्लब समस्यामा परेपछि सबै खेलाडी लाखापाखा लाग्न थाले। बाध्यतावश रोहितले सम्झौता पूरा हुन ७ महिना बाँकी रहँदै पिएसपिएस छाड्नुपर्यो। ३ महिनाको पारिश्रमिक पाए पनि  बाँकी २ महिनाको पारिश्रमिक माया मारेर उनी अन्य क्लबमा सम्झौताका लागि प्रयास गर्न थाले। 

एजेन्टमार्फत राजधानी जाकर्ताको क्लब पेर्सिजा जाकर्ताको सम्पर्कमा पुगे। पेर्सिजामा भने ट्रायल दिनैपरेन। सिधै गएर सम्झौता पत्रमा हस्ताक्षर गरे। 

चन्द जाकर्ता पुग्दा क्लब अंक तालिकाको पुछारमा थियो। आर्थिक रुपमा पनि संकटग्रस्त।

जस्तो समस्या परे पनि क्लबका लागि रेलिगेसनबाट बच्नु नै ठूलो हुन्छ। त्यसैले रोहितसहित ५ जना नयाँ खेलाडीसँग सम्झौता गरेपछि पेर्सिजाको आशा बढेको थियो। प्रभावस्वरुप त्यतिबेला १३औं स्थानमा रहँदै पेर्सिजा रेलिगेसनबाट बालबाल बच्यो। 

नेपालमा रोहितको पहिचान 'नामी डिफेन्डर' थियो। विदेशी लिगमा पुगेपछि उनले आफ्नो पोजिसन बदले। मिडफिल्डमा अभ्यस्त बनाए। डिफेन्समा अब्बल उनी मिडफिल्डमा पनि जमेपछि टिमका लागि नभई नहुने खेलाडीको रुपमा चिनिन थाले। क्लबले चाहेअनुसार उनी जुन पोजिसनमा पनि खेल्न सक्थे। 

पेर्सिजाले पत्याएपछि 
दायरा फराकिलो पारेसँगै पेर्सिजाले उनीसँग थप २ वर्षका लागि सम्झौता गर्‍यो। त्यतिबेला इन्डोनेसियामा जोन वान र जोन टु गरी दुई वटा लिग हुन्थ्यो। पेर्सिजा जोन वानमा थियो। अघिल्लो सिजन बल्लतल्ल रेलिगेसनबाट बचेको पेर्सिजाका लागि २०१४ को लिग राम्रो हुन सकेन। पेर्सिजा चौथो स्थानमा सीमित हुँदा दोस्रो चरणमा पुग्न सकेन। 

२०१५ सिजनका लागि रोहित फेरि इन्डोनेसिया पुगे। इन्डोनेसियन फुटबल विवादले चरम रुप लियो। इन्डोनेसिया फिफाको प्रतिबन्धमा पर्यो। जसले गर्दा २ खेलपछि लिग हुन सकेन। २ वर्षको सम्झौता गरेका रोहितसामु फेरि पनि सम्झौता पूरा नभई क्लब छाड्नुपर्ने अवस्था आयो। चन्द भन्छन्, 'फुटबल विवाद बढ्दै गएपछि लिग हुन सकेन। क्लब र खेलाडीबीचको समझदारीमा सम्झौता टुंग्यायौं।' 

नेपाल फर्किएपछि उनी मलेसियन क्लब तेरेङगानु एफसीको सम्पर्कमा पुगे। मलेसियाको प्रिमियर लिगको क्लब तेरेङगानुकालाई सुपर लिगका लागि प्लेअफ खेल्नुपर्ने थियो। त्यसैले ऊ मिडफिल्डरको खोजीमा थियो। संयोगवश क्लबको प्रशिक्षक इन्डोनेसियन थिए। जसले गर्दा रोहितसँग सम्पर्क गर्न सजिलो भयो। सम्झौताका लागि मलेसिया बोलाए।

सम्झौता त भयो तर उनी मैत्रीपूर्ण खेलका दौरान घाइते भए। खुट्टामा लागेको चोटलाई सामान्य रुपमा लिँदै उनले एक साता रेस्ट गरेर प्लेअफ खेले। विजयी हुँदै क्लब सुपर लिगमा पनि पुग्यो। तर रोहितको खुट्टाको चोट भने झन् बल्झियो। 

चिकित्सकसँगको सल्लाहपछि एक महिनापछि मलेसियामै उनको खुट्टाको शल्यक्रिया भयो। खेलाडीको बिमा हुने व्यवस्थाका कारण शल्यक्रियाको खर्च भने लागेन। 

शल्यक्रियापछि लगभग ११ महिना उनी मैदानबाहिर रहे। त्यसबीचमा इन्डोनेसियमा फुटबल महोल बिग्रिरहेको थियो। सन् २०१६ इन्डोनेसियामा लिग नै हुन सकेन। 

खुट्टा ठिक हुन थालेपछि चन्द इन्डोनेसियामै फर्कन चाहन्थे। २०१७ मा फिफाले इन्डोनेसियन फुटबलमाथिको प्रतिबन्ध हटाएपछि त चन्द फेरि त्यहाँको महोलमा खेल्नका लागि हतारिन थाले। पेर्सिजामा रोहितका एजेन्टले सम्पर्क बढाउन थाले। २ सिजनअघि पेर्सिजाबाट खेलिसकेकाले उनलाई सजिलै थियो। क्लबका खेलाडीदेखि पदाधिकारीले उनलाई चिन्थे। उनको बानी र गुणबारे क्लब व्यवस्थापनलाई थाहा थियो। क्लबका अध्यक्षले पनि राम्रो मान्थे। त्यसैले २०१७ मा फेरि चन्द र पेर्सिजाबीच एक वर्षको सम्झौता भयो। उनी सम्झन्छन्, 'तत्कालीन अध्यक्षले मलाई ल्याउनका लागि सिफारिस गर्नुभएको हो भन्ने लाग्छ। क्लबमा हुँदा उहाँले राम्रो मान्नु हुन्थ्यो।' 

पेर्सिजामा प्रशिक्षक नयाँ थिए। क्लब व्यवस्थापनको विश्वासमा भित्रिएका रोहितलाई प्रशिक्षकले प्रि-सिजन प्रशिक्षणबिना नै टिममा राख्ने निर्णय गरेका थिए। अर्कोतर्फ भर्खर चोटबाट फर्किएका चन्दको आत्मविश्वास पनि बढ्दै थियो। २०१७ मा ३० भन्दा बढी खेल खेले। २०१७ को लिगमा पेर्सिजा चौथो भयौं। जहाँ चन्दको भूमिका महत्वपूर्ण थियो। त्यसैले रोहित २०१८ सिजनका लागि पनि क्लबमा आबद्ध हुन सफल भए।

सफलताको ग्राफ
२०१८ कै सिजन हो, रोहितको सफलताको ग्राफले रफ्तार पकडेको। जुन सिजन पेर्सिजाले मात्र होइन रोहितले पनि जीवनकै ठूलो उपलब्धिलाई चुमे। 

२०१८ को सुरुवातमै उनले एएफसी कप खेल्ने मौका पाए। पहिलो र दोस्रो भएका टिमको मापदण्ड नपुगेकाले तेस्रो र चौथो टिमले कप खेल्ने मौका पाएका थिए। पेर्सिजा एएफसी कपको आसियान जोनको सेमिफाइनलमा पुग्न सफल भयो। जुन क्लबको लक्ष्यभन्दा माथिको उपलब्धि हो।  

२०१८ को सुरुवातमा एकदमै व्यस्त समय तालिका भएकाले पेर्सिजाले प्रेसिडेन्ट कप र एएफसी कप सँगसँगै खेलेको थियो। बीचमा लिगका खेलका लागि भ्रमण गरिरहनुपर्थ्यो।   

पेर्सिजा प्रेसिडेन्ट कपको फाइनलमा पुग्न सफल भयो। जाकर्ताको बुङ कार्नो रंगशालामा ७० हजारभन्दा बढी दर्शकका बीच पेर्सिजाले बाली एफसीविरुद्ध फाइनल खेल्यो। एएफसी च्याम्पियन्स लिगको प्लेअफ खेलेर आएको बलियो बालीविरुद्ध रोहितले उच्च प्रदर्शन गरे। सो खेलमा उनले २ एसिस्ट गरेका थिए। फलस्वरुप जाकर्ता च्याम्पियन बन्यो। उपाधि जितेपछि जाकर्ता सहरले नै खुसी मनायो। किनकि पेर्सिजाले धेरैपछि कुनै प्रतियोगिताको उपाधि जितेको थियो। 

सिजनको सुरुवातमा घरेलु प्रतियोगिताको उपाधि जितेपछि पेर्सिजाका प्रशिक्षक हौसिए। उनले व्यवस्थित तरिकाले प्रशिक्षण सञ्चालन गर्थे। उनले चन्दलाई 'बक्स टु बक्स' मिडफिल्डरको जिम्मेवारी दिए। विपक्षीविरुद्ध आक्रमण गर्न सपोर्ट गर्ने र डिफेन्समा ध्याने जिम्मेवारी चन्दको थियो। टिमलाई सबैतिरबाट सहयोग गर्ने थियो। टिममा तीन जना मिडफिल्डरमध्ये एक आक्रामक र अर्का रक्षात्मक थिए। 

'मैले आफ्नो पोजिसनमा फिट हुनका लागि कडा मेहनत गरेको थिएँ। प्रशिक्षणदेखि मैदानमा हरेक कुरामा एकदमै गम्भीर। त्यसैले प्रशिक्षकले मलाई एकदमै विश्वास गर्थे। मेरो पोजिनसमा खेल्ने अरु पनि थिए। तर मैले जस्तो अरुले टिमलाई सपोर्ट गर्न सक्दैन थिएँ,' आफ्नो भूमिकाबारे रोहितले प्रस्ट्याए। 

सिजनमा उनले मिडफिल्ड मात्र खेलेनन्। लगभग सबै पोसिजनमा मैदान सम्हाले। 

पेर्सिजा सिजनमा अब्बल साबित हुँदै गइरहेको थियो। अन्तिम खेलमा जित हात पारे उसलाई लिग वानको पहिलो उपाधि जित्ने अवसर आयो। 

'हामीलाई अन्तिम खेल जित्न एकदमै दबाब थियो। फ्यानबाट पनि त्यतिकै आशा पनि। हाम्रो प्रतिस्पर्धी मित्र कुकारलाई पनि दबाब थियो। किनकि उसलाई रेलिगेसनबाट बच्न जितको खाँचो थियो,' उनी अन्तिम खेलबारे भन्छन्, 'एकदमै कठिन खेलमा विजयी भयौं। अनि पाएँ पहिलोपटक लिगको ट्रफी उचाल्ने अवसर।' च्याम्पियन बनेपछि सेन्ट्रल जाकर्ताको बुङ कार्नो रंगशालाको महोल नै छुट्टै थियो। कोही खुसीले चिच्याउने कोही रुने गरिरहेका थिए। किनकि पेर्सिजाले धेरैपछि उपाधि जितेको थिए। 

अन्तिम खेलअघि प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीको मनोनयनमा रोहित पनि परेका थिए। सुरुमा उनलाई विश्वास लागेन। किनकि इन्डोनेसियामा उत्कृष्ट विदेशी खेलाडीबीच ठूलै प्रतिस्पर्धा छ। मनोनयमा चन्दसँगै पेर्सियाका ब्राजिलियन स्ट्राइकर डेभिड डा सिल्भा र पिएसएम माकासारका डच फरवार्ड विलियन जान प्लुइन थिए। 

व्यक्तिगत रुपमा रोहितलाई फाइदा थियो। किनकि उनको क्लब च्याम्पियन बन्ने बाटोमा थियो। 

उत्कृष्ट खेलाडीको सूचीमा पर्दा सुरुमा विश्वास नलागे पनि उनले आफ्नै खेलबारे सूक्ष्म विश्लेषण गरे। 'व्यक्तिगत रुपमा मनोनयमा परेका अन्य राम्रा हुन्। तर म टिम खेलाडी थिएँ,' रोहित टिमलाई सपोर्ट गर्ने खेलाडी भएकाले म फाइदामा थिएँ।'

अन्तिम खेल जितेर च्याम्पियन बनेपछि पेर्सिजाका खेलाडी खुसी मनाइरहेका थिए। त्यति नै बेला 'मोस्ट भ्यालुएबल खेलाडी'को रुपमा रोहितकै नाम घोषणा भयो। तर उनले थाहा पाएनन्। इन्डोनेसियन भाषामा नै भनिएकाले बुझेनन् सायद। 'पछि साथीहरुले तानेर मञ्चमा पुर्याएपछि बल्ल चाल पाएँ, म त इन्डोनेसिया लिग वानको सर्वोत्कृष्ट खेलाडी भएछु।' 

नेपालको झन्डा ओढेर उनले पुरस्कार थापे। लिग च्याम्पियन हुन सक्ने सम्भावना भएकाले उनले पहिला नै देशको झन्डा लगेका थिए, ओढ्ने योजनासहित। 'अर्को देशमा गएर आफ्नो देशलाई चिनाउन पाउँदा धेरै खुसी लाग्छ। त्यसका लागि देशको झन्डा नै उत्तम विकल्प हो,' रोहितले भने। 

२०१८ को व्यस्त सिजनपछि रोहित नेपाल फर्किए। अहिले उनलाई सबैले इन्डोनेसियाको लिग र सर्वोत्कृष्ट खेलाडीबारे सोधिरहन्छन्। इन्डोनेसिया र नेपालको फुटबलको तुलना गर्ने कोसिस गर्छन्। अनि निष्कर्षमा पुग्छन्, नेपाल र इन्डोनेसियाको फुटबलको तुलनै हुन सक्दैन। माहोल मात्र होइन खेल्ने तरिका र पूर्वाधारमा पनि इन्डोनेसिया धेरै अघि छ। 'पूर्वाधारले पनि फुटबल माहोल सिर्जना गर्छ। त्यहाँ ठाँउठाँउमा ठूल्ठुला रंगशाला छन्,' उनको बुझाइ छ, 'अर्को त लगानी पनि उत्तिकै छ। हामीले त्यसको तुलना गर्दा नेपालमा लगानी नै छैन भन्दा हुन्छ।'  

आफूले व्यावसायिक जीवनमा सफलता हात पारेका रोहित अब देशको टिमका लागि पनि योगदान गर्न चहान्छन्। 'हामी सबै साफ च्याम्पियनसिपमा केन्द्रित हुनुपर्छ,' उनी ढुक्क छन्, 'मेरो इच्छा पनि देशका लागि साफ च्याम्पियनसिप नै जित्ने हो।'

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने