सरकार र पार्टीमा बिचाैलिया हाबी भए : लेखनाथ न्यौपाने

नेपाल लाइभ

Nepal Live

दुई तिहाई बहुमतसहितको वर्तमान सरकार सञ्चालन  तथा काम कारबाही लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहिरमात्र होइन पार्टीभित्रै पनि आलोचना भइरहेको छ। सरकारका काम कारबाहीलाई लिएर भइरहेका आलोचनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्रमाथि संस्थागत रुपमै भएको आक्रमण’ भनेका छन्। नेकपा नेतृत्वको सरकार सञ्चालन, प्रधानमन्त्रीको अभिव्यक्ति, जनअपेक्षालगायत विषयमा नेकपाका केन्द्रीय समिति सदस्य एवम् युवा नेता लेखनाथ न्यौपानेसँग नेपाल लाइभकी पुष्पा केसीले गरेको कुराकानीः 


दुई तिहाईको कम्युनिस्ट सरकार सञ्चालनलाई कसरी नियालिरहनुभएको छ?
दुई तिहाई भन्नेबित्तिकै आकाश नै झार्छ भनेर बुझ्ने र आलोचना गर्ने मानिसहरूको प्रवृति छ। सरकार सञ्चालनमा दुई तिहाई र बहुमत ल्याउनु धेरै फरक हुँदैन। यद्यपि कानुन निर्माण, संविधान संशोधनमा प्रभावित होलान् त्यो अर्को विषय हो। दुई तिहाई ल्यायो भने सरकार बलियो हुन्छ भन्ने उदेश्यले काम गरेका होलान्। तर, सरकारले जसरी काम गर्नुपर्थ्यो र एउटा मनोविज्ञानलाई केन्द्रित गर्नुपर्थ्यो त्यो गर्न सकेन। हाम्रो काम गर्ने र सोच्ने तरिकाको अभाव पनि होला। तर, मुलुकको समृद्धिका लागि जुन काममा मनोविज्ञान केन्द्रित गर्नुपर्थ्यो त्यसमा कतै चुकेको हो कि भन्ने लाग्छ। हामीले फर्केर हेर्नुपर्‍यो कहाँ र कुन ठाउँमा सक्ने अवस्था हुँदा पनि गर्न सकेनौं। अनि त्यसलाई सच्याउ भन्ने मेरो सुझाव हो।

पार्टी कमिटीका बैठकहरू हुँदैनन् । सदस्यहरूले आफ्ना मतहरू राख्ने वातावरण कम छ। नेताहरू स्वार्थ समूहहरूको घेराबन्दीमा हुन्छन। खुलेर छलफल गर्ने वातावरण बन्दैन।

तपाई आफ्नै सरकारप्रति पनि किन निराश ? 
यो विषयमा उत्साहित र खुशी हुनुका निम्ति सामूहिक अभ्यास चाहिन्छ। पार्टी र सरकार सञ्चालन सामूहिक अभ्यासको अभिव्यक्ति हो। तर हामीमा सामूहिक अभ्यासको अभिव्यक्तिमा कमी आएको छ। राम्रो हुँदा पनि स्वयम् व्यक्तिको जिम्मा हो र नराम्रो हुँदा पनि स्वयम व्यक्तिको जिम्मा हो भनेर पन्छाउन खोज्ने प्रवृतिको हामी विकास गर्न खोज्दै छौं।

केही दिनअघि तपाईंले फेसबुक स्टाटसमा ‘कसरी उत्साहित र इमानदार बन्नु’ भन्ने लेख्नुभएको थियो। स्टाटस लेख्नुअघि तपाईले कति पटक सोच्नुभयो? सरकार सञ्चालन र गतिविधिप्रति तपाईं कहिलेदेखि आलोचक बन्नु भएको हो?
सामान्यतयाः सामाजिक सञ्जालहरूमा लेख्ने कुरा धेरै नसोची नै लेख्ने प्रवृति बढि नै हावी भएको म महसुस गर्छु। कार्यकर्ता तथा जनतासामु जाँदा फरक विचारका राजनीतिक पार्टीका कार्यकर्तासँग भेटघाट हुन्छ। आफूले पनि अनुभूति गर्दा जे विषयवस्तु मेरो मनमा खेल्छन्, त्यो विषयलाई बहसका लागि सार्वजनिक गर्दा सही नै होला भन्ने मलाई लाग्छ। पृष्ठभूमि त्यहीे हो। 

तर, त्यस्ता कुरा लेख्दा धेरै सोच्नुपर्ने म ठान्छु। यद्यपि मैले लेखेका कैयौं विषयवस्तु पार्टीभित्र नै आलोचनाको विषय पनि बनेको छ। त्यसकारण लेख्दा अलि ख्याल गरेर लेखमा राम्रो भन्ने सोचाइ मेरो हो। अभिव्यक्तिलाई तौलने क्रममा आफ्नो विचार सकेसम्म नमरोस् भन्ने विषयवस्तुमा ख्याल गर्छु।जे विषयवस्तु सार्वजनिक भएका छन् त्यो तथ्यपरक नै हो। यो विषय वस्तु हामीले सच्याउनुपर्छ यदि सच्चिएन भने हाम्रो लोकप्रियता बर्बाद हुन्छ भन्ने विषय वस्तु उठान गर्न खोजेको हुँ।

पार्टीभित्रको कमीकमजोरीबारे पार्टीभित्र प्रस्ट रुपमा छलफल नभइरहेको अवस्थामा तपाईंको अभिव्यक्तिलाई अलिक बढी नै भएन र?
आलोचनाका लागि आलोचना गर्ने, राम्रो कुराहरूलाई पनि नराम्रो भनेर त्यसलाई नकारात्मक दिशातिर डोर्‍याउने अनि आफू सत्य सावित हुने मेरो उदेश्य होईन। सामाजिक सञ्जालमा स्टाटस त्यो तरिकाले लेखेको पनि होईन। तर बाहिर प्रचार हुँदा केही बढी भएको हो कि भन्ने हो। तर, कैयौँ सार्वजनिक महत्वका यस्ता विषयहरू पनि हुन्छन्। जुन पार्टी भित्र मात्र बहस गरेर पुग्दैन र यो पार्टीभन्दा बाहिर आएर पनि बहस गर्नुपर्ने अवस्था हुन्छ। किनकी राजनीति भनेको आन्तरिक मामिला मात्र होईन। सही हो भने त्यसले सकारात्मक प्रभाव पार्छ र गलत हो भने त्यसले मुलुकलाई नकारात्मक प्रभाव पार्छ। प्रवृतिगत आलोचना गर्दा व्यक्तिगतरूपमा लिने गलत प्रवति छ। त्यसकारणले पनि अलिकता बढी विवादमा तानिएको होकी भन्ने हो। तर, म त्यो स्टाटसले ठिकै गरेको छ भन्ने ठान्दछु।

सात दशकदेखिको नेपाली कम्युनिष्ट आन्दोलन र  राजनीतिको औचित्य पुष्टि गर्ने र कम्युनिष्टले बनाउन चाहेको नेपाल कस्तो हो भनेर देखाउने अवसर अहिले मिलेको छ। कतैबाट अवरोध छैन। तर, तपाईँले स्टाटसमा लेखेजस्तो अवस्था कसरी सिर्जना भयो त? 
हामी धेरै अन्तविरोधको अवस्थामा छौं। पहिलो अन्तरविरोध हाम्रो पार्टीको नाम नेकपा छ। हाम्रो पार्टीको झण्डामा मजदुर र किसानको संकेत छ, हँसिया र हथौडाको। नेकपाकै नाममा हामीले काम गरिरहेका छौं। तर राजनीतिक प्रणालीमा हामीले वेष्टमिनिस्टर प्रणालीको अभ्यासमा गरिहेका छौं। यो गम्भिर अन्तरविरोधको विषय हो।त्यही प्रणालीमा टेकेर हामी राजनीतिक प्रणालीमा लागेका छौं। विरोधीहरूले कम्युनिष्ट भन्ने तर हामी कम्युनिष्ट नबन्ने? यो अन्तरविरोधको हल गरौं भन्ने मेरो सुझाव हो। यसमा पार्टीभित्र र सार्वजनिक मञ्चमा बहस गरिरहेको छु। पछिल्लो समय राजनीतिमा ठूलो परिवर्तन भयो। तर, हाम्रो सोचाई र काम गर्ने शैलीमा परिवर्तन कतैपनि भएन।

सरकारले जसरी काम गर्नुपर्थ्यो र एउटा मनोविज्ञानलाई केन्द्रित गर्नुपर्थ्यो त्यो गर्न सकेन। हामी लोभी स्वभावका भयौं। सोचाइ र काम गर्ने शैलीमा परिवर्तन नभएकै कारण अहिलेको सरकारले अपेक्षित परिणाम दिन नसकेको हो। 

दोस्रो कुरा हाम्रो सोच पुरानो संसदीय व्यवस्था भन्दा फरक भएन। गणतन्त्रमा केही न केही भएपनि परिवर्तन हुनुपर्छ। सोचाई र काम गर्ने शैलीमा परिवर्तन नभएकै कारण अहिलेको सरकारले अपेक्षित परिणाम दिन नसकेको हो।

र, तेस्रो कारण हामी लोभी स्वभावका भयौं। यो राजनीतिभित्र छताछुल्ल भएको छ। कम्युनिष्टभित्रकै नेताहरूमा घरभाडादेखि ,दोहोरो इन्धनको सुविधा, आफ्नै परिवारका सदस्यहरूलाई सचिवलयमा भर्तिजस्ता कारणले पनि आलोचना र असन्तुष्टि बढेको छ।

प्रधानमन्त्रीले त तपाईंले अहिले भनेका कुरा मिडियामा सार्वजनिक भएपछि त त्यसलाई लोकतन्त्रमाथिकै हमला भन्नुभएको छ नि। कसरी लिनुहुन्छ? 
इमानदारपूर्वक भन्ने हो भने हामी अहिले सिक्ने प्रक्रियामै छौं। तत्काल प्रश्नको जवाफ दिएर फर्किनुभन्दा अलिकता पछि फर्किनुपर्ने हुन्छ। समीक्षा गर्नु पर्छ मुलुकको चित्र जस्ताको त्यस्तै जनताका अगाडि राख्नुपर्छ। मुलुकलाई नयाँ दिशातर्फ लैजान्छौं भन्ने प्रतिबद्धता जाहेर गर्नुपर्छ।

उता सरकारको प्रगति विवरण र तथ्याङ्कका विषयमा पनि आलोचना भइरहेको छ। नेपाली समाजमा विभिन्न विचारहरू राख्ने विभिन्न समुदायहरू छन्। तिनीहरूको बीचमा आलोचना हुन्छ। विचार र संगठन फरक भएपछि आलोचना हुन्छ। आलोचना हुनु हुँंदैन भन्ने होईन। तर, तथ्याङ्कमाथि आलोचना हुनु हुँदैन भन्ने हो। फेरि त्यस्तो आलोचनालाई संस्था कमजोर पार्ने आक्रमणको रुपमा पनि हेर्नु हुँदैन। हामीले जसले जे बोलेपनि सिक्ने कुरामा विनम्रता देखाउनुको विकल्प छैन।

तपाईंले फेसबुकमार्फत नै ‘हेलिकोप्टर चढेर खेती अवलोकन गर्ने हाम्रा राष्ट्रप्रमुखलाई हेरेर उत्साहित हुन सकिँदैन’ भन्ने अभिव्यक्ति सार्वजनिक गर्नुभयो। यस्ता विषयलाई पनि प्रधानमन्त्रीले संसदमा नै लोकतन्त्रमाथिको संस्थागत हमला भन्नुभयो। अब, आम सर्वसाधरण जनताले कसरी बुझ्ने? 
प्रधानमन्त्रीले भनेको त्यो विषयवस्तुसँग म सहमत छैन। राष्ट्रपति साझा संस्था हो। हाम्रो राष्ट्रको साझा संस्थामाथि कसैले पनि, विरोधीले पनि हमला गर्नु हुँदैन। विषय के हो भने हाम्रो राष्ट्रपति हिजो कम्युनिष्ट आन्दोेलनामा योगदान गरेर आएको व्यक्तित्व हो। उहाँले गर्ने कतिपय कार्यहरू सरल तथा जनशैलीमा आँच नआउने खालको हुनुपर्छ भन्ने अपेक्षालाई अन्यथा ठान्नु हुँदैन। 

अर्को, विषय दुनियाँका नेतृत्वहरूले विभिन्न विकासका मोडेलहरू प्रस्तुत गरिरहेका छन्। देश र जनताका लागि केन्द्रित भएर। हाम्रो अपेक्षा के हो भने राज्यसंयन्त्रले कैयौं गल्ति गर्दा त्यो संस्थाको नेतृत्व गर्ने व्यक्तित्वले त्यसलाई सच्याउने आँट गर्नुपर्छ। देशको आर्थिक अवस्था र जनताको दैनिकी अत्यन्त कष्टकर छ। तर राष्ट्रपतिले प्रयोग गर्ने सवारीसधानहरू राज्यको आर्थिक अवस्था र जनताको दैनिकीअनुरुप बढी महङगो हुन्छ भने त्यसलाई सच्याउनु पर्छ है भनेर सार्वजनिक रुपमा भन्न किन मिल्दैन ? यो संस्थामाथि भएको आक्रमण हो भन्न मिल्दैन।

जनताले जुन अपेक्षाले जनप्रतिनिधिहरू चुनेर पठाएका हुन्छन्, तर अपेक्षाअनुरुप उनीहरूले काम गर्न सकेनन् भनिन्छ नि?
सबैलाई एउटै डालोमा राख्न त नमिल्ला। तर, हाम्रो चुनावी प्रक्रिया नै गलत छ। यसमा अथाहा सम्पति खर्च गरेर चुनावी मैदान पार गर्ने र त्यो खर्च आफूले पदधारण गरेपछि असुल्ने प्रवृति छ। यसले जनस्तरको कोणबाट सोच्ने र आलोचनाको आक्रमणबाट बच्नुपर्छ है मेरो कार्यशैली, भनेर सोच्ने विषय वस्तुलाई अन्त्य पो गरिदिएको छ की भन्नेतर्फ समीक्षा गर्नुपर्छ। निर्वाचित जनप्रतिनिधिले आफ्नो पद जनताको सेवाका लागि नबुझेर आफ्नो सामाजिक प्रतिष्ठाका रुपमा प्रयोग गरिरहेका छन्। यो हाम्रो बनावटी कल्चर हो।

हाम्रो राष्ट्रपति हिजो कम्युनिष्ट आन्दोेलनामा योगदान गरेर आएको व्यक्तित्व हो। उहाँले गर्ने कतिपय कार्यहरू सरल तथा जनशैलीमा आँच नआउने खालको हुनुपर्छ।

तपाईंले विश्व विद्यालयलाई दबाव दिएर निजी विद्यालयलाई सम्बन्धन दिने गरिएको, नेपाल टेलिकममा अनियमित चलखेल हुने गरेको भन्ने भनाइ पनि राख्ने गर्नुभएको छ। त्यसमा पनि धेरै आर्थिक लेनदेनका विषय उठाउनुभएको छ। त्यसका पछाडिको आधार के हो?
यो विषयमा लुकेको कुरा केही छैन। सबैमाझ प्रष्ट छ। राजनीतिमा विचौलिया प्रवृति प्रवेश भएको छ। त्यसले प्राय सबै निर्णयहरू गर्छ। बिचौलिया अनुकुल धेरै निर्णयहरू पनि भएका छन्।

यस अर्थमा धेरै अघिदेखि हामीले विषयगत विश्वविद्यालयको माग गर्‍यौं। एक दशक पनि भएको छैन, कृषि तथा वन विश्व विद्यालय स्थापना भएको। त्यो विश्वविद्यालय स्थापना भएर राम्रोसँग अगाडि बढ्न पनि सकेको छैन। तर, त्यो विश्वविद्यालयले निजी विश्वविद्यालयलाई सम्बन्धन दिने कार्यक्रम अगाडि बढाइसकेको छ। यसको विरोधमा विद्यार्थीहरूले गरेको आन्दोलनमा हामी जोडियौं। हाम्रो संघर्ष विश्वविद्यालयका प्राध्यापकसँग मात्र नभएर राजनीतिक पार्टीका नेताहरूसँग पनि चल्यो। राजनीतिक पार्टीका नेताहरू त्यो संघर्षमा जोडिनुको कारणहरू धेरै सतहमा आईसकेका छन्।सामूहिक तवरले समस्या समाधानको प्रयास गरेनौं। अहिलेको जस्तो स्थिति कायम रहने हो भने हाम्रो देशको अवस्था दिनदिनै नाजुक हुँदै जान्छ। यो मेरो अध्ययन हो।

प्रधानमन्त्रीले जस्तोसुकै काम कारबाही गरेपनि डटेर प्रशंसा गर्ने एउटा समूह छ। उनीहरूले हरेक काम सान्दर्भिक नै छ भनेर अभिव्यक्ति दिइरहेका छन्। तर, तपाईं लगायत पार्टीभित्रकै मान्छे सरकारको कमीकमजोरीको आलोचना गरिरहनुभएको छ। पार्टीभित्र र सरकारको प्रशंसामात्र गर्नेहरूबाट कतिको अप्ठ्यारा सिर्जना हुन्छन्?
यो नेपाली राजनीतिभित्रको पेचिलो विषयवस्तु हो। राजनीति आफैमा आलोचनात्मक विषयवस्तु पनि हो। राजनीतिमा लाग्ने नेता होस या कार्यकर्ता नै किन नहोस् उसले एउटा सिमासहितको जिम्मेवारी पूरा गर्ने हो। आलोचना र आत्मालोचनासहित अगाडि बढ्ने पार्टी हो कम्युनिष्ट भनेको। तर, हाम्रोमा समस्या पार्टी कमिटिका बैठकहरू हुँदैनन् र कमिटीभित्रका सदस्यहरूले आफ्ना मतहरू राख्ने वातावरण कम छ।

हाम्रो चुनावी प्रक्रिया नै गलत छ। अथाहा सम्पति खर्च गरेर चुनावी मैदान पार गर्ने र त्यो खर्च आफूले पदधारण गरेपछि असुल्ने प्रवृति छ।

नेताहरू स्वार्थ समूहहरूको घेराबन्दीमा हुन्छन्। यी विषयहरूमा खुलेर छलफल गर्ने वातावरण बन्दैन। हामीलाई स्थायी सरकार चाहिएको थियो। अहिले हाम्रो पार्टीको स्थायी सरकार छ। यसलाई कसरी टिकाउ बनाउने होला भन्ने चिन्तासहित नै हो हामीले आलोचना गरेको। यसअर्थमा सकारात्मक सोचका साथ आलोचना भएको कुरालाई पार्टीले सकारात्मक रुपमा लिनुपर्छ।

तपाईंहरू जस्तै केही युवा नेताहरूले सरकार सञ्चालनलाई लिएर रचनात्मक सुझाव दिनुहुन्छ। यसले पार्टी र सरकार भित्र कतिको स्थान पाउँछ?
पहिलो कुरा आलोचनात्मक चेतलाई विरोधका रुपमा लिने शक्तिको संख्या बढी छ। दोस्रो, केही नपाएर आवेग पोखेको र रिस पोखेको भन्ने छ। तेस्रो, यसलाई जबरजस्ती विवादमा तानी दिने। यो के कारण पैदा भयो ? पृष्ठभूमि के हो ? सत्य तथ्य के हो ? सकारात्मक योगदान गर्छ की नकारात्मक ? भन्ने विषयमा प्रवेश गरेर विश्लेषण गर्ने शक्ति छैन। मुख्य त पार्टीभित्र भएको कमजोरीलाई लिएर भएको आलोचनालाई सकारात्मक रुपमा बुझ्ने संस्कारको विकास छैन। आलोचनाका रुपमा अभिव्यक्त भएका कुरालाई कुन गुटबाट यो कुरा आएको भन्ने ढङ्गले पार्टी अगाडि बढेको छ।

गुटका कुरा पहिले माओवादी केन्द्रभित्र मात्र यस्तो थियो की पछि एकिकरण भएको नेकपाभित्र पनि यस्तो हो?
नेकपा बनेको त एक वर्ष पनि भएको छैन। यो पहिले पनि थियो। एकता भएको नेकपामा पनि छ। पहिले एमालेमा गुटको अभ्यास अत्यन्त डरलाग्दो थियो। पूर्व माओवादी केन्द्रमा अलि कम थियो। तर, हामी अलिक समस्या ग्रस्त नै थियौं। दुवै पार्टी सस्याग्रस्त नै थियौं। र दुवैको समस्या नै आज एकता भएको नेकपामा प्रतिविम्वित भएको छ।

सत्तापक्षले जे गरे पनि ठिक भन्ने समूह नेकपाभित्र मात्र नभएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भोलि सत्तामा जाँदा पनि देखिएला। यो नेपाली राजनीतिको संस्कार नै भनेर बुझ्न सकिन्छ?
समग्र राजनीति कार्यकर्ताभित्र विचार, सिद्धान्त र संस्कृतिबारे छलफल कम हुन्छ। यो राजनीतिमा असाध्यै डरलाग्दो चित्र हो। पार्टीले संस्थागत हिसाबमा कार्यकर्तालाई कसरी विकास गर्ने र सम्बन्धित क्षेत्रमा जिम्मेवारी कसरी प्रदान गर्ने भन्ने विषयमा गम्भिरतापूर्वक छलफल भएको छैन। अर्कातिर चेतना भएका नेता तथा कार्यकर्ताहरू मुलधारमा आउन सकेका छैनन्। किनारामा छन्। राजनीति कमजोर भयो भने योग्यता र क्षमता नभएका व्यक्तिहरू अर्थात् गैरराजनीतिक क्षेत्रबाट राजनीतिक क्षेत्रमा आउने प्रक्रिया तीव्र हुन्छ। दलीय विचारमा गैरदलीय विचारहरू पनि समावेश हुने खतरा हुन्छ। खराब राजनीतिबाट धेरै समस्याहरू पैदा हुन थालिसकेका छन।नेता तथा कार्यकर्ताको नैतिकताको बलमा मुलुकको समृद्धि जनतामा केन्द्रित हुनुपर्छ। तर, त्यो भएको छैन। 

राजनीतिमा पार्टी र नेतृत्व वर्ग बचाउनका निमित्त गलत प्रवृति र कामलाई पनि साथ दिनुपर्ने अवस्था नेकपामा रहेको हो? के कारणले त्यस्तो बाध्यता आइपर्छन्?
सैद्धान्तिक हिसाबले गलत कुराको संरक्षण गर्नु हुँदैन। सिद्धान्तअनुसार पार्टीभित्र गलत भएको छ भने सिद्धान्तको आधारमा आन्तरिकरूपमा गहन तवरले हल गर भन्ने कुरा उल्लेख्य हुन्छ। तर, पार्टीभित्र आज आन्तरिक तवरले छलफल गर्ने भन्दा बाह्य रुपमा बढी छलफल गर्दैछौं। गलत कुरालाई सही हो भन्ने कुरा शासकीय दृष्टिकोण हो। त्यो जनताको दृष्टिकोण होईन। यो कम्युनिष्टहरूले निर्माण गरेको दृष्टिकोण होइन। भोलि गलत साबित हुने विषयलाई आज किन गलत भनेर संस्थागत नगर्ने? कम्युनिष्ट राजनीतिभित्र गैर कम्युनिष्ट मिसिएको छ। त्यसले मुलुक र जनताको नेतृत्व पनि गर्दैन, हित पनि गर्दैन।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने