व्यवसायिक चिया खेतीमा रम्दै गुरुङ, मासिक उत्पादन १ क्विन्टल, आम्दानी १ लाख

नेपाल लाइभ

Nepal Live

लमजुङ- काठमाडौंकोे बसाइ छोडी गाउँ फर्केका लमजुङका एक युवाले व्यावसायिक चिया खेती गरिरहेका छन्।

दोर्दी गाउँपालिका–८, दुवारगाउँका ४४ वर्षीय ओमलाल गुरुङले १ करोड २५ लाख रुपैयाँको लगानीमा चिया खेती र चिया प्रशोधन केन्द्र स्थापना गरेर चिया उत्पादन गर्न थालेका हुन्। गाउँमा उत्पादित चिया लमजुङदेखि काठमाडौंसम्म बिक्री हुँदै आएको छ। चियाको माग बढेकाले बेंसीसहरको झिङ्गे खोला नजिकै चियाको होलसेल बिक्री केन्द्र पनि स्थापना गरेको उनले जानकारी दिए।

उक्त बिक्री केन्द्रकाे बुधबार मात्रै उद्घाटन गरिएकाे छ। साेक्रममा बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नयाँ व्यवयासलाई नगरपालिकाले स्वागत गर्ने र व्यवसाय प्रवर्द्धनमा जोड दिइने बताए। गाउँ फर्केर व्यवसायमा लागेका युवालाई स्थानीय तहबाट आवश्यक सहयोग उपलब्ध गराइने पनि उनले प्रतिबद्धतासमेत व्यक्त गरे।

विसं २०६७ मा २० रोपनी क्षेत्रफलमा २० हजार चियाका बिरुवा लगाई व्यावसायिक चिया खेती सुरु गरेका गुरुङले हाल १ सय ५० रोपनीमा चिया खेती विस्तार गरेका छन्। 'सुरु-सुरुमा हातैले चिया प्रशोधन गरेँ। अहिले १२ लाख रुपैयाँ लगानी गरेर चिया प्रशोधन गर्ने उपकरण ल्याएर चिया प्रशोधन गर्न थालें। यसबाट नियमित ५ जनाले रोजगारीसमेत पाएका छन्', उनले भने।

सुरुमा इलामबाट चियाको बिरुवा ल्याएका गुरुङले अहिले भने आफैं चियाको बिरुवासमेत उत्पादन गरी बिक्रीवितरणसमेत गर्दै आएका छन्। 'बजारमा 'क्रिष्टा टी प्रालि'को नामबाट ‘लमजुङ टी’ उपलब्ध गराएका छाैं', गुरुङले भने, 'महिनामा कम्तीमा १ सय किलो चिया उत्पादन हुँदै आएको छ, यसबाट कम्तीमा १ लाख आम्दानी हुन्छ।'

गाउँमा चिया खेती सुरु भएपछि यहाँको बजारमा अन्य कम्पनीको चिया खपत हुन रोकिएको र काठमाडौंका साथै अन्य जिल्लामा पनि उक्त चियाको माग बढेको उनले दाबी गरे। गुरुङले गाउँवाट चियाबारी जाने कच्ची मोटरबाटो निर्माण गर्नाका साथै एकल लगानीमा गाउँमा एक फूटबल खेलमैदान समेत निर्माण गरेका छन्।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने