नेपाली फुटबल लिगकी एक्ली महिला फिजियोथेरापिस्ट

बुनु थारू

Nepal Live

खेलकुदमा फिजियोथेरापीलाई अभिन्न अंग मानिन्छ। प्रत्येक खेलकुदका प्रतिस्पर्धामा मेडिकल टिमसहित फिजियोथेरापिस्ट अनिवार्य रूपमा खटिने व्यवस्था हुन्छ। अझ ‘टिम गेम्स’का लागि प्रत्येक टिमले फिजियोथेरापिस्टलाई आधिकारिक रूपमा अनिवार्य समावेश गर्नुपर्छ। 

टिममा अनिवार्य समावेश हुने फिजियोथेरापिस्टमा महिलाको संख्या भने निकै कम छ। इंग्लिस क्लब चेल्सीले टिमको फिजियोथेरापिस्टको रूपमा इभा कार्निरोलाई नियुक्त गरेपछि उनी सेलिब्रेटी नै बनेकी थिइन्। इभालाई व्यावसायिक खेलकुद लिगमा काम गर्ने पहिलो फिजियोथेरापिस्टको रूपमा लिने गरिन्छ।

नेपालमा सहिद स्मारक ‘ए’ लिग फुटबल सुरु भएको ६४ वर्षसम्म महिलाले फिजियोथेरापिस्टको रुपमा काम गर्ने अवसर पाएनन्। तर, यो सिजनमा भने ६४ वर्षको रेकर्ड तोडियो। 

फ्रेन्ड्स क्लबमा आबद्ध भएर महिला फिजियोथेरापिस्टले पनि खेलकुदमा काम गर्न सक्ने उदाहरण प्रस्तुत गरिन्, नवीना श्रेष्ठले। नवीना आधिकारिक खेलकुद क्लबकी पहिलो महिला फिजियोथेरापिस्ट भनेर चिनिन थालेकी छन्।

उनी लिगका हरेक खेलमा फ्रेन्ड्स क्लबको अफिसियल फिजियोथेरापिस्टको रूपमा मैदानमा खटिने गरेकी छन्। खेलाडीलाई फिट राख्न र घाइते हुनेबित्तिकै उपचार गर्न उनले शतप्रतिशत प्रयास गरिरहेकी छन्। फ्रेन्ड्स प्रदर्शनमा कमजोर देखिए पनि फिजियोथेरापिस्टको रूपमा नवीनाको डेब्यू उत्कृष्ट देखिएको छ।

लोकन्थली भक्तपुरकी बासिन्दा नवीना सानैदेखि नै अब्बल विद्यार्थी थिइन्। पारिवारिक पृष्ठभूमि पनि स्वास्थ्य क्षेत्रकै भएकाले फिजियोथेरापी नयाँ र राम्रो विषय भनेर पढ्न जोड दिइयो। त्यसैले उनले फिजियोथेरापी पढ्ने निधो गरेकी थिइन्। 

सन् २००६ मा फिजियोथेरापीमा उनले स्नातक गरिन्। भारतको चेन्नइस्थित एसआरएम युनिभर्सिटीबाट सन् २०११ मा पोस्ट ग्र्याजुएसन सिध्याएकी थिइन्। त्यहाँ उनले युनिभर्सिटी ‘टप’ गरिन्। उनी नेपाल विद्याभूषण पदक पाउने पहिलो फिजियोथेरापिस्ट समेत हुन्।

न्युरो अस्पताल बाँसबारीमा फिजियोथेरापीको विभागीय प्रमुख भएर काम गरेकी उनी अहिले निदान अस्पतालमा फिजियो विभागकी प्रमुख छिन्। फ्रेन्ड्स क्लबको खेल हुने दिन भने उनी अस्पतालमा होइन मैदानमा अफिसियलको जर्सी लगाएको अवस्थामा भेटिन्छिन्। रुचिका साथ खेल हेर्छिन्, अनि खेलका दौरान घाइते हुने खेलाडीलाई उपचार पनि।

उनमा खेलप्रतिको लगाव बाल्यकालदेखि नै थियो। कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा पढेकी उनी त्यहाँ यू–१४ एन्फाको टिमसँग घुलमिल हुन्थिन्। होस्टल बसेर फुटबल प्रशिक्षण हेरिरहन्थिन्।

उनी भन्छिन्, ‘त्यतिबेलाका चर्चित खेलाडी उपेन्द्रमान सिंहले तालिम दिन्थे, म उनीहरूको अभ्यास खुब रमाइलो मानेर हेर्थें।’

स्कुल पढ्दा बास्केटबल, टेबलटेनिस, कराँते, चित्रकला मन पराउने उनले अहिले पनि टेबलटेनिस खेल्न छाडेकी छैनन्। पछिल्लो समय उनमा फुटबलप्रतिको लगाव बढेको छ। फ्रेन्ड्स क्लबसँग आबद्ध भएछि फुटबल खेल्नभन्दा पनि हेर्न मजा आउने अनुभव गरेकी छन्। 

सानैदेखि खेलकुदमा रुचि भए पनि मैदानमा छिरेर फिजियोथेरापिस्टको भूमिकामा आउन पाऊँला भनेर कहिल्यै पनि नसोचेकेकी बताउँछिन्, नवीना। उनी भन्छिन्, ‘हुन त हामीलाई स्नातक तहमा नै स्पोर्ट्स थेरापीको बारेमा नपढाइने होइन, धेरै पुरुषहरू खेलकुदमै लाग्ने भनेर भविष्य खोज्छन्, महिला भने खेलकुदमा कमै आउँछन्। मैले त्यो मौका पाएको छु, गर्व लाग्छ।’

पहिलो महिला फिजियोथेरापिस्टको रूपमा चर्चा भएपछि नवीनाको लोकप्रियता बढेको छ। ‘खेलकुद भनेको त छिट्टै नै लोकप्रियता कमाउने ठाउँ रहेछ, मैले अहिले कमाइरहेकी छु,’ उनी भन्छिन्, ‘जानी नजानी यसमा होमिएँ, राम्रै लागिराखेको छ। मेरो काम नै घाइतेलाई ठिक पार्नु हो। अझ राम्रो अवसर पाएँ भने यसमै करिअर बनाउन सक्छु।’ 

फिजियोथेरापी एसोसिएसनमा उपाध्यक्षसमेत रहेकी नवीना आफू खेलकुदमा महिला फिजियोथेरापिस्ट भएर रोल मोडल बन्न पाउँदा गर्व महसुस भएको बताउँछिन्। ‘अहिलेसम्म म पैसाको लागि काम गरिरहेको छैन, करिअर बनाउनलाई पैसा पनि चाहिन्छ। व्यावसायिक रूपमा आबद्ध गरायो भने सोच्न सकिने उनी बताउँछिन्,’ उनको बुझाइ छ। 
०००

पहिलो खेल ट्रायलजस्तो


दसैंको बेला। सहिद स्मारक ‘ए’ डिभिजन लिग आउँदैथ्यो। एकदिन अस्पतालमा पुरुष फिजियोथेरापिस्ट चाहियो भनेर अनुरोध आयो। हामी यहाँ निदानमा त सबै केटी मात्र छौं। तत्काल कहाँबाट ल्याउने ? अहिलेलाई मेरै नाम राख्दिनु भनेँ। 

असोज २५ गते म एन्फा मैदानमा सामान्य टिसर्ट लगाएर गएकी थिएँ। जहाँ फ्रेन्ड्सले थ्रीस्टार क्लबविरुद्ध खेल्दै थियो। 

सुरुको दिनमा जाँदा सबै कुरा राम्रोसँग थाहा थिएन। फिजियोथेरापिस्ट भनेर खेलाडीसँग सामान्य चिनजान गराइयो। राम्रोसँग खेल्नुहोला भनेर शुभकामना दिएँ। सुरुको दिनमा इन्जुरी भएकालाई उपचार गरेँ। सजिलै भयो। 

‘हाफ टाइम’ भएपछि ‘चेन्जिङ रुम’मा मलाई बोलाइयो। त्यहाँ केटाहरू खुबै हल्ला गरिरहेका थिए। म जानेबित्तिकै सबै चुप लागे। सायद नयाँ मान्छे र महिला भएको कारणले होला हल्ला रोकियो।  सबैले मलाई सम्मानको भावले हेरे।

पहिलो खेलमा जसरी मैले उपचार गरेँ, सबैले राम्रो माने। मेरो काम राम्रो लागेर अर्को म्याचको लागि आउनुपर्छ भनेर मलाई अफिसियलको जर्सी र ट्र्याकहरू ल्याएर दिइयो। त्यसपछि टिमका लागि काम गर्न सक्छु भन्ने लाग्यो।  

पहिलोपटक महिला फिजियोथेरापिस्ट भएर होला सुरुमा खेलाडीले आफ्नो समस्या बताउन नै हिच्किचाए। घाइते भएका खेलाडी तीन दिनको ग्यापपछि फलोअपका लागि अस्पताल आउँथे, म उनीहरूको उपचार गर्थें। सायद मेरो उपचार ठिक लाग्यो होला। दोस्रो म्याचपछि उनीहरू खुल्न थाले। त्यसपछि त ‘दिदी यहाँ दुख्यो, त्यहाँ दुख्यो’ भनेर ब्रेक टाइममा नै पाँच–छ जनाले समस्या देखाउन थाले। त्यसपछि त मलाई भ्याइनभ्याई हुन्थ्यो।  

एकपटक एक खेलाडीको प्राइभेट पार्टमा चोट लागेको थियो। मलाई सबैभन्दा अप्ठ्यारो परेको भनेको दिन त्यही हो। त्यतिबेला मलाई अलिकति समस्या भएको थियो। तर मैले सिक्न कहिल्यै पनि छाडिनँ। त्यस विषयमा अध्ययन गरेँ। खोजेँ। नसालाई ठिक गर्ने न हो। अर्को एक खेलाडीको पनि त्यस्तै भएको थियो, एकछिनमै ठिक पारिदिएँ। त्यसपछि त ढुक्क भएँ, मैले गर्न नसक्ने केही काम रहेनछ। अहिले सबै खेलाडीले मेरो कामको सम्मान गर्छन्।

पहिलो खेल मेरो ट्रायलजस्तो लाग्यो। यति लामो समयसम्म बस्न पाउँछु भन्ने लागेको थिएन। पहिलोपटक नजिकबाट मैदानमा बसेर गेम हेर्न पाएँ। मैदानमा गएर कहिले पनि त्यति नजिकबाट गेम हेरेको थिइनँ। त्यति नजिक बसेर हेर्दा छुट्टै प्रकारको उत्साह आउने रहेछ। सायद ११–१२ मा पढ्दा एकचोटि रंगशालामा गएर हेरेको थिएँ, तर कहाँ बसेर हेरेको याद पनि छैन। 

जति चोट उति जोखिम
खेलाडीमा प्रायः आउने इन्जुरी भनेको ह्यामस्ट्रिङ स्ट्रेन्स (हिपभन्दा तल तिघ्राको पछिल्लो भागमा सड्किने), मस्कुलर स्ट्रेन्स (मांशपेसी सड्किने), एंकल स्प्रेन (गोलीगाँठा नजिकको भाग मर्कने), नी लिगामेन्ट इन्जुरी (घुँडामा चोट), कन्ट्युसन (निलडाम) आदि हुन्। यीमध्ये घुँडामा लाग्ने चोटपटक बढी छ। 

त्यसैगरी बलले टाउकोमा लाग्दा निलडाम हुने इन्जुरी निकै छ। कहिलेकाहीँ उनीहरूमा होस हराएजस्तो पनि हुन्छ। त्यतिबेला श्वासप्रश्वास पनि समस्या आउन सक्छ। खेलाडीहरूमा मासंपेशी बाउँडिने, खुट्टाको हड्डीमा दुखाइ हुने पनि बढी हुन्छ। 

खेलका दौरान फ्याक्चर पनि हुन्छ, त्यसबेला उनीहरूलाई तुरुन्त अस्पताल लगिन्छ। लिगामेन्ट वा गोलीगाँठामा चोट लाग्यो भने तीन महिना नै लाग्छ ठिक हुन। पूरै खेलमा फर्किन छ महिना लाग्छ। 

शरीरको जति माथिल्लो भागमा चोट लाग्यो त्यति नै खेलाडीमा जोखिम हुन्छ।

खेलाडी मैदानमा खेलिरहँदा म पनि एकदम अलर्ट भएर बस्छु। उनीहरू कसरी घाइते भए भनेर मेलै ध्यानपूर्वक हेरेर बस्नुपर्ने हुन्छ। नत्र भने छिटो उपचार प्रक्रिया पत्ता लगाउन गाह्रो हुन्छ। खेलाडीझैं बेन्चमा मलाई पनि तनाव भइराखेको हुन्छ।

तस्बिर सौजन्य : डिजी फ्ल्यास 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने